Monday, 1 April 2019

असफलतालाई पनि स्वीकार गर्नुहोस् - निर्मल सुनुवार



       




असफलतालाई  पनि स्वीकार गर्नुहोस्               

                                                                                            ***निर्मल सुनुवार***

असफलता त्यस व्यक्तिको लागि राम्रो अवसर हो जसले आफ्नो आत्मसम्मानलाई कायम राखेका हुन्छन्। असफलतालाई अवसरको रुपमा सोच्नाले र खुशी रहनाले तपाईले जीवनमा खुसी प्राप्त गर्न सक्नुहुनेछ । अरू मानिसहरूले तपाईको असफलताको बारेमा के सोच्छन् भन्ने कुराप्रति तपाईंले चिन्ता गर्न हुँदैन उनीहरू त आफ्नैअसफलतालाई लिएर व्यस्त छन्।

 असफलताको बाटोमा अगाडि बढाइएको हरेक पाइलाले तपाईंलाई खुशीयाली दिनेछ, यदि तपाईंले रचनात्मक तरिकाले यसो गर्नु भएको छ भने । यदि तपाईंले खुशीयालीलाई दीर्घायु बनाउने प्रयास गर्नु भएन भने त्यसको आयु एकदमै कम हुन्छ भन्ने कुरालाई नबिर्सनुहोस् । सिर्जनात्मक रूपले आफ्ना स-साना लक्ष्यहरूलाई हासिल गर्दै जानाले तपाईलाई खुशीयाली प्राप्त हुनेछ । किनभने तपाईसंग आत्म-आलोचनाको लागि समय छैन।

 आफ्नो आत्मसम्मान कहिल्यै नगुमाउनुहोस् । यदि तपाईले एक पटक मात्र पनि त्यसलाई गुमाउनुभयो भने तपाईंको सबै कुरा गुम्नेछ जसले आफुले आफ्नो आदर गर्न सक्दैन, उसले अरूबाट पनि आदरको अपेक्षा राख्नु हुँदैन बुद्धिमान मानिसको नजरमा असफलता तल झर्नु नभएर तल बसिरहनु हो । असफलता सपनाहरूको अन्त्य नभएर  सुरुवात हो।

 तपाईंको आत्मसम्मान सुरक्षित रहेसम्म मात्र रचनात्मक चिंतन सम्भव छ । जीवनमा तपाईले मानिसहरू तथा अन्य आलोचकहरूको सजिलैसँग सामना गर्न सक्नुहुनेछ । तपाईको आफ्नो छवि तपाईको मस्तिष्कमा नै बसेको छ । तपाईंको यस छविमा त्यस अवस्थामा सुधार हुन्छ, जब तपाईको राम्रो पारिवारिक सम्बन्ध हुन्छ, राम्रो नैतिक स्तर हुन्छ, राम्रो साथिभाइ हुन्छ, पर्याप्त धन-सम्पत्ति हुन्छ, अनि तपाईं आफनो काम अर्थात् पेसा सँग प्रेम गर्नु हुन्छ। अरूलाई सहयोग गरेर आफ्नो आत्मसम्मान बढाउनुहोस् ।

जब कहिले कहिले तपाईंलाई नकारिइन्छ, त्यसबेला वास्तवमा तपाईंलाई नभएर तपाईंको काम वा गतिविधिलाई नकारिएको हुन्छ । यस अस्वीकारको विश्लेषण गर्नुहोस् । मैले गर्न सक्छु, मैले गर्न सक्छु- जस्ता विचारले सधैं तपाईंको छविमा सुधार ल्याउने छन् । तपाईंले रातारात यस्तो गर्न सक्नुहुन्न, यो त एउटा अति नै मन्द प्रक्रिया हो । तर हिम्मत नहार्नुहोस्  । आफ्नो छविलाई सुधार्ने र आफ्नो तनाव कम गर्ने सयौं तरिकाहरू हुन सक्छन् ।

तपाई नयाँ विचारहरूलाई ग्रहण गर्न जान्नुहुन्छ भने असफलताले नै तपाईलाई सफलताको बाटाे देखाउनेछ। कुनै मानिस  अनेकौं /धेरै पटक असफल हुन सक्छ, तर ऊ त्यसबेलासम्म पराजित हुँदैन , जबसम्म उसले आफ्नो असफलताको लागि अरूलाई दोषी ठान्दैन ।

 
             - निर्मल सुनुवार
 

Labels:

0 Comments:

Post a Comment

If you Have any doubt/question please let me know. Thank you

Subscribe to Post Comments [Atom]

<< Home